ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सिरहाको लहानबाट राहत सामग्री पठाइएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (मधेश प्रदेश कार्यसमिति) को अगुवाइमा १८५ थान गैर–खाद्य सामग्री (Non-Food Items) सहितको राहत प्याकेज प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
मानवीय साझेदारी सहायता मञ्च (Humanitarian Partnership Platform–HPP) र केयर नेपाल (CARE Nepal) सँगको साझेदारीमा लहानमा भण्डारण गरिएको राहत सामग्री २०८३ साल भदौ १० गते प्रभावित क्षेत्रतर्फ पठाइएको महासंघले जनाएको छ। महासंघका मधेश प्रदेश सचिव यामुन प्रसाद यादवका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले प्र–२–०३–००१ ख ५५५८ नम्बरको सवारी साधनमार्फत राहत सामग्री काठमाडौं हुँदै भोटेकोशीतर्फ पठाइएको हो।
भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै कतिपय परिवार विस्थापित भएका छन्। बाढीपछि प्रभावित समुदायमा दैनिक उपभोग तथा आधारभूत जीवनयापनका लागि आवश्यक गैर–खाद्य सामग्रीको आवश्यकता बढेकाले तत्काल राहत पुर्याउने उद्देश्यले उक्त सामग्री पठाइएको महासंघले जनाएको छ। राहत सामग्री बोकेको सवारी साधनलाई गन्तव्यसम्म सुरक्षित र सहज रूपमा पुर्याउन महासंघले बाटोमा पर्ने सम्पूर्ण सुरक्षा निकाय, प्रशासनिक निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सहजीकरण र सहयोग गरिदिन विशेष अनुरोध गरेको छ।
. महासंघका अनुसार विपद्को समयमा राहत सामग्री समयमै प्रभावित समुदायसम्म पुग्नु अत्यन्त महत्वपूर्ण भएकाले ढुवानीका क्रममा सम्भावित अवरोध हटाउन तथा सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको हो। लहानमा पूर्वतयारीस्वरूप भण्डारण गरिएको उक्त राहत सामग्री विपद् प्रभावित क्षेत्रमा पठाइनुले स्थानीय तहबाट विपद् व्यवस्थापन तथा मानवीय सहायता कार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। राहत सामग्री प्राप्त भएपछि बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्कालीन आधारभूत आवश्यकता सम्बोधन गर्न केही हदसम्म सहयोग पुग्ने विश्वास गरिएको छ।
यस राहत अभियानसम्बन्धी औपचारिक जानकारी केयर नेपालको केन्द्रीय कार्यालय, मानवीय साझेदारी सहायता मञ्च (HPP) सचिवालय तथा राष्ट्रिय कृषक समूह महासंघ, नेपालको राष्ट्रिय कार्यसमितिलाई समेत गराइएको मधेश प्रदेश कार्यसमितिले जनाएको छ। महासंघले विपद्का बेला प्रभावित समुदायलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा सरकारी निकाय, सुरक्षा संयन्त्र, गैरसरकारी संस्था, नागरिक समाज तथा स्थानीय समुदायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। राहत सामग्रीको यो पहलले भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति मानवीय ऐक्यबद्धता प्रदर्शन गर्नुका साथै विपद्को समयमा तत्काल सहयोग पुर्याउन विभिन्न संस्था र समुदायबीचको सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic