Siraha Times
ताजा समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद वितरण

  • भदौ १०, २०८३
  • १४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहकारी संस्था लिमिटेडले स्थानीय किसानलाई सहज र सहुलियत रूपमा मलखाद उपलब्ध गराउन थालेको छ।

वडा नं. ४ का अध्यक्ष रमेश गोइत र सहकारीबीच केही महिनादेखि चल्दै आएको विवाद अन्त्य भएपछि सहकारीले गाउँपालिकाले निर्धारण गरेको मूल्यमा मलखाद वितरण सुरु गरेको हो। सहकारीले मंगलबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलमदेवी यादव, कृषि शाखा प्रमुख हरिनारायण यादव र नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको रोहवरमा सयौँ किसानलाई मलखाद वितरण गरिएको सहकारीका प्रमुख विजय झाले जानकारी दिए।

झाका अनुसार ग्राम ज्योति कृषि सहकारीले किसानलाई आवश्यक कृषि सामग्री स्थानीय स्तरमै सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा दिँदै आएको छ। उनले सहकारीबाट मलखाद वितरणमा कुनै किसिमको कालोबजारी नभएको दाबी गर्दै किसानलाई निर्धारित मूल्यमा आवश्यक मलखाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। गाउँपालिकाकी उपाध्यक्ष निलमदेवी यादवले सहकारी र वडा अध्यक्षबीचको विवाद समाधान भएसँगै किसानले सहज रूपमा मलखाद पाउने वातावरण बनेको बताइन्।

उनले किसानको हितलाई प्राथमिकतामा राख्दै कृषि सामग्री वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले रासायनिक मलमा मात्र निर्भर हुनुभन्दा किसानले स्थानीय स्रोत–साधनको प्रयोग गरी घरमै कम्पोस्ट तथा जैविक मल उत्पादन गर्नुपर्ने बताए। उनले माटोको उर्वराशक्ति कायम राख्न र उत्पादन लागत घटाउन जैविक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरे। त्यस्तै, संस्थाका प्रतिनिधि जगन्नाथ झाले आगामी दिनमा सहकारी र किसानबीच कुनै विवादको अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले वास्तविक किसानको पहिचान गरी मलखाद वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘किसान कार्ड’ वितरणको व्यवस्था गर्नुपर्ने सुझाव दिए। किसानको स्पष्ट पहिचान भएपछि मलखादको वितरणमा हुने अनियमितता नियन्त्रण गर्न तथा वास्तविक किसानसम्म कृषि सामग्री पुर्‍याउन सहज हुने उनको भनाइ थियो। सहकारीले आगामी दिनमा किसानको माग र आवश्यकतालाई ध्यानमा राख्दै कृषि सामग्रीको सेवा विस्तार गर्ने जनाएको छ।

स्थानीय किसानलाई गाउँमै सहज रूपमा मलखाद तथा अन्य आवश्यक कृषि सामग्री उपलब्ध गराउने उद्देश्यसहित सहकारीले आफ्नो सेवा निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। विवादका कारण प्रभावित हुँदै आएको मलखाद वितरण पुनः सहज भएपछि स्थानीय किसानले राहत महसुस गरेका छन्। किसानले समयमै उचित मूल्यमा मलखाद पाउने व्यवस्था निरन्तर कायम राख्न सम्बन्धित निकायसँग अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१