Siraha Times
ताजा समाचार

लहान–११ को लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा केन्द्र औपचारिक रूपमा उद्घाटन

  • भदौ १०, २०८३
  • ३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा केन्द्रको औपचारिक उद्घाटन बुधबार सम्पन्न भएको छ। करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनसँगै स्थानीयवासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ।

कार्यक्रमको सञ्चालन रेखा चौधरीले गर्नुभएको थियो भने लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता सूर्य नारायण चौधरीले गर्नुभएको थियो। कार्यक्रममा लहान नगरपालिका वडा नं. २० का वडा अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा स्वास्थ्य शाखाका सम्पूर्ण सदस्य, कार्यपालिका सदस्य, विभिन्न निकायबाट आएका बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा स्वास्थ्यकर्मीहरूलाई गाउँ–गाउँ तथा घर–घर पुगेर स्वास्थ्य सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ६ जना स्वास्थ्यकर्मीलाई साइकल, छाता र ब्याग हस्तान्तरण गरिएको थियो। साइकल, ब्याग तथा छाता प्राप्त गर्ने स्वास्थ्यकर्मीहरूमा पिन्की कुमारी साह, सविता कुमारी चौधरी, गीता कुमारी चौधरी, गङ्गा कुमारी चौधरी, सरियार कुमारी चौधरी र असवन्ती कुमारी चौधरी रहेका छन्।

लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा केन्द्र २०८० सालमा स्थापना भए पनि आवश्यक तयारी तथा व्यवस्थापनपछि २०८३ भदौ १० गते औपचारिक रूपमा उद्घाटन गरिएको हो। केन्द्रको औपचारिक उद्घाटनसँगै स्थानीयस्तरमै नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि लक्ष्मिनिया तथा आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क हुने जानकारी दिनुभयो। उहाँले स्वास्थ्यकर्मीहरूलाई समुदायको घरदैलोमै पुगेर सेवा प्रवाह गर्न आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको बताउनुभयो।कार्यक्रममा अध्यक्षता गर्नुभएका सूर्य नारायण चौधरीले लक्ष्मिनियामा स्वास्थ्य सेवा केन्द्र निर्माण र सञ्चालनमा ल्याउन आफूले लामो संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो स्वास्थ्य सेवा केन्द्र यहाँसम्म ल्याउन मैले मुद्दासमेत झेल्नुपरेको थियो।” लामो प्रयास र चुनौतीपछि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आउनु स्थानीयवासीका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो।

करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण भएको स्वास्थ्य सेवा केन्द्र अब स्थानीय नागरिकका लागि स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। केन्द्र सञ्चालनमा आएपछि विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न परिवारका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त हुने विश्वास गरिएको छ।

स्थानीयवासी तथा कार्यक्रममा सहभागी बुद्धिजीवीहरूले आफ्नै गाउँ–ठाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आउनु सकारात्मक उपलब्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आवश्यक औषधि, उपकरण र जनशक्तिको निरन्तर व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा केन्द्रको औपचारिक उद्घाटनसँगै स्थानीयस्तरमा “घरदैलोमै स्वास्थ्य सेवा” पुर्‍याउने लक्ष्यलाई थप प्रभावकारी बनाउने सन्देशसमेत प्रवाह भएको छ।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१