लहान । लहान नगरपालिका–६ का टोल–बस्तीमा शनिबार बिहान सरसफाइ अभियानसँगै घरदैलो जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। सार्वजनिक स्थलको सरसफाइसँगै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सुरक्षित शौचालयको नियमित प्रयोग, व्यक्तिगत स्वच्छता तथा फोहोरको उचित व्यवस्थापनबारे सचेतना फैलाइएको हो।
लहान नगरपालिकाले सञ्चालन गर्दै आएको “घर–घरको शान, स्वच्छता अभियान”अन्तर्गत दीपज्योति स्कूल, नहर रोडबाट सुरु भएको कार्यक्रम गामिन चोक हुँदै वडा नं. ६ का विभिन्न टोलमा पुगेको थियो। अभियानका क्रममा एक समूहले सडक, गल्ली, नाली, सार्वजनिक स्थल तथा धार्मिक परिसरको सरसफाइ गरिरहँदा अर्को समूह घर–घर पुगेर स्वच्छता र सुरक्षित शौचालय प्रयोगको महत्वबारे जानकारी दिइरहेको देखिन्थ्यो।

घरदैलो अभियानमा सहभागी मन्दिरा विश्वकर्माले स्वच्छताको सुरुवात घरबाटै हुने बताउनुभयो। उहाँले सुरक्षित शौचालयको नियमित प्रयोग, साबुनपानीले हात धुने बानी र घरायसी फोहोरको उचित व्यवस्थापनले परिवारको स्वास्थ्य मात्र होइन, सम्पूर्ण समुदायको जीवनस्तर सुधार्न सहयोग पुग्ने भएकाले यस्ता विषयलाई घर–घरमा पुगेर बुझाउन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

लहान नगरपालिकाको WASH Unit को समन्वय तथा टोलस्तरीय सरसफाइ एवं स्वच्छता व्यवस्थापन समितिको सहकार्यमा सम्पन्न कार्यक्रममा वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, युवा, समाजसेवी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले “शौचालय हाम्रो शान, स्वच्छता हाम्रो पहिचान" “स्वच्छ वातावरण, स्वस्थ जीवन" र “सरसफाइ तथा शौचालय निर्माण अभियान सफल पारौँ" लगायतका नारासहित जनचेतनामूलक र्यालीसमेत निकालेका थिए।
अभियानका क्रममा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिनुका साथै स्थानीयलाई जथाभावी फोहोर नफाल्न, घरायसी फोहोरको वर्गीकरण गर्न तथा आफ्नै घर–आँगनदेखि सार्वजनिक स्थलसम्म स्वच्छता कायम राख्न आग्रह गरिएको थियो। स्थानीयवासीले पनि अभियानमा सहभागी हुँदै स्वच्छ र व्यवस्थित टोल निर्माणमा सामूहिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ६ का वडा अध्यक्ष रमेश गौतमले सरसफाइलाई एकदिने कार्यक्रमका रूपमा नभई दैनिक जीवनको संस्कारका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षित शौचालयको नियमित प्रयोग, प्रभावकारी फोहोर व्यवस्थापन र नागरिकको सक्रिय सहभागिताबिना स्वच्छ र स्वस्थ समुदाय निर्माण सम्भव नहुने उल्लेख गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
लहान नगरपालिकाले केही समययता प्रत्येक शनिबार सञ्चालन गर्दै आएको स्वच्छता अभियानले सरसफाइलाई व्यवहार परिवर्तनसँग जोड्दै समुदायमा स्वच्छताको संस्कार विकास गर्ने प्रयास गरिरहेको जनाएको छ। नगरपालिकाका अनुसार सडक सफा गर्नु अभियानको एउटा पक्ष भए पनि यसको मुख्य उद्देश्य प्रत्येक घरमा सुरक्षित शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ र वातावरणीय जिम्मेवारीलाई दैनिकीको हिस्सा बनाउनु हो। नगरपालिकाको विश्वास छ कि यस्ता निरन्तर जनचेतनामूलक अभियानबाट स्वच्छ, स्वस्थ र वातावरणमैत्री लहान निर्माणको लक्ष्यलाई थप बल पुग्नेछ।
प्रतिक्रिया दिनुहोस
सिरहाको परिहारपुरमा दूध चिस्यान तथा संकलन केन्द्र सञ्चालन, ३५० घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुने
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic