Siraha Times
ताजा समाचार

मलखाद वितरणमा पक्षपात भएको आरोप, भगवानपुर–१ वडा कार्यालयमा किसानद्वारा तालाबन्दी

  • असार ३१, २०८३
  • ५८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भगवानपुर गाउँपालिका–१ का आक्रोशित किसानहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मलखाद वितरणमा पक्षपात गरिएको आरोप लगाउँदै किसानहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा वास्तविक किसानलाई तत्काल मलखाद उपलब्ध गराउन माग गरेका छन्।

आन्दोलनरत किसानहरूका अनुसार वडा कार्यालयबाट गरिएको मलखाद वितरणमा पारदर्शिता अपनाइएको छैन। उनीहरूले वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव निकट व्यक्तिहरूलाई प्राथमिकताका साथ मलखाद वितरण गरिएको आरोप लगाएका छन्। वास्तविक किसानहरू दिनभर लाइनमा बसे पनि मलखाद नपाई खाली हात फर्किन बाध्य भएको उनीहरूको गुनासो छ।

स्थानीय किसानहरूको दाबी अनुसार केही प्रभावशाली व्यक्तिहरूले रातिको समयमा आफ्नै घरका लागि मलखाद लगे भने खेतबारीमा काम गर्ने किसानहरू भने दिनभर पालो कुर्दासमेत मलखादबाट वञ्चित भए। "हामी खेत जोत्ने किसान हौं, तर मलखाद भने पहुँचवालाले मात्रै पाए," आन्दोलनमा सहभागी एक किसानले आक्रोश व्यक्त गरे।

किसानहरूले मलखाद वितरण प्रक्रियामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी कारबाही गर्न तथा वास्तविक किसानलाई तत्काल आवश्यक परिमाणमा मलखाद उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

यता, उक्त आरोपप्रति प्रतिक्रिया दिँदै भगवानपुर गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष इन्द्र प्रसाद यादवले किसानहरूको समस्या वास्तविक भए पनि यसको मुख्य कारण मलखादको अभाव रहेको बताए। उनले भने, "हाम्रो वडामा करिब १,३०० घरधुरी छन्। यस्तो अवस्थामा २०० बोरा मलखादले कसरी सबै किसानको आवश्यकता पूरा गर्न सक्छ? पहिले छिमेकी मुलुक भारतबाट समेत मल आउने भएकाले केही सहज हुन्थ्यो, अहिले त्यो व्यवस्था पनि बन्द भएको छ। यसको जिम्मेवारी स्थानीय तहभन्दा पनि सरकारको हो। सरकारले पर्याप्त मलको व्यवस्था गर्नुपर्छ, अन्यथा यस्तो न्यून परिमाणमा मल पठाएर किसानलाई झन् समस्यामा पार्नु हुँदैन।"

कार्यवाहक वडा अध्यक्ष यादवले सीमित परिमाणमा प्राप्त भएको मलखादका कारण सबै किसानलाई उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै पर्याप्त परिमाणमा मल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग आफूहरूले पनि पटक–पटक माग गर्दै आएको बताए। खेतीपातीको अत्यन्त संवेदनशील समयमा मलखाद अभावका कारण किसानहरू समस्यामा परेका छन्। यसले धान रोपाइँ प्रभावित हुने चिन्ता बढेको छ। स्थानीय किसानहरूले समयमै पर्याप्त मलखाद उपलब्ध गराउन सरकारसँग माग गर्दै वितरण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१