ओम प्रकाश यादव लहान, असार २६ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ स्थित रामपुर चौकमा स्थानीयवासीको शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको प्रहरी बिटको औपचारिक उद्घाटन गरिएको छ। स्थानीय बजार क्षेत्र तथा आसपासका बासिन्दालाई प्रभावकारी सुरक्षा सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापना गरिएको उक्त प्रहरी बिटको उद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश बहादुर पालको प्रमुख आतिथ्य तथा वडा नं. १ का वडा अध्यक्ष प्रशुराम मण्डल खतवेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी बिटको उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीएसपी पालले समुदायको सुरक्षामा प्रहरीको भूमिका मात्र पर्याप्त नहुने भन्दै नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले प्रहरी बिट स्थापना भएपछि स्थानीय स्तरमा हुने विभिन्न आपराधिक गतिविधिको निगरानी, नियन्त्रण तथा अनुसन्धान कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
डीएसपी पालले प्रहरी बिटले नागरिकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुग्ने उल्लेख गर्दै शान्ति सुरक्षा कायम राख्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम राख्ने तथा जनतामा सुरक्षा अनुभूति बढाउने दिशामा प्रहरी बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे।
कार्यक्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारका कार्यालय प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले प्रहरी बिट स्थापना भएपछि स्थानीय स्तरमै प्रहरीको उपस्थिति मजबुत हुने र नागरिकका गुनासा तथा समस्याको तत्काल सम्बोधन गर्न सहज हुने बताए। उनले समुदाय–प्रहरी साझेदारीको अवधारणालाई व्यवहारमा उतार्न यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्याउने बताए।
स्थानीय बजारका व्यवसायी, जनप्रतिनिधि तथा वडा कार्यालयको सहयोगमा स्थापना गरिएको प्रहरी बिटले रामपुर चौक तथा आसपासका क्षेत्रको सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले लामो समयदेखि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरी बिट स्थापनाको माग गर्दै आएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, व्यवसायी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै सुरक्षित, सभ्य र शान्त समाज निर्माणमा प्रहरी बिटले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
स्थानीयवासीका अनुसार रामपुर चौक क्षेत्र व्यापारिक तथा आवागमनका दृष्टिले महत्वपूर्ण स्थान भएकाले यहाँ प्रहरी बिट स्थापना भएपछि सुरक्षा चुनौती न्यूनीकरण हुनुका साथै आकस्मिक घटनामा प्रहरीको पहुँच छिटो हुने अपेक्षा गरिएको छ। प्रहरी बिट सञ्चालनमा आएपछि चोरी, लुटपाट, लागुऔषध दुव्र्यसन लगायतका सामाजिक विकृतिविरुद्ध निगरानी बढ्ने र नागरिकले थप सुरक्षा अनुभूति गर्ने विश्वास लिइएको छ।
प्रहरी प्रशासन र स्थानीय समुदायको संयुक्त पहलमा स्थापना गरिएको यस प्रहरी बिटलाई लक्ष्मीपुर पतारी गाउँपालिकामा शान्ति सुरक्षा सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
बलान बिहुल गाउँपालिकामा चारदिने अनुगमन तथा मूल्याङ्कन अन्तरक्रिया सम्पन्न, सुशासन र प्रभावकारी सेवा प्रवाहमा जोड
भगवानपुर गाउँपालिकामा बर्डफ्लु तथा महामारीजन्य पशुरोग नियन्त्रण सम्बन्धी तीनदिने जनचेतना कार्यक्रम सम्पन्न
अतिविपन्न महिलालाई व्यवसाय विस्तारका लागि सिलाई सामग्री हस्तान्तरण, आत्मनिर्भर बनाउने भगवानपुर गाउँपालिकाको पहल
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic