Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकामा बर्डफ्लु तथा महामारीजन्य पशुरोग नियन्त्रण सम्बन्धी तीनदिने जनचेतना कार्यक्रम सम्पन्न

  • असार २६, २०८३
  • ३५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार २६। सिरहाको भगवानपुर गाउँपालिकामा पशुपन्छीमा फैलिन सक्ने महामारीजन्य रोग तथा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत भगवानपुर गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा असार २३ गतेदेखि सुरु भएको “महामारी रोग प्रचार–प्रसार अभियान तथा बर्डफ्लु रोग सम्बन्धी जनचेतना कार्यक्रम” असार २५ गते समापन गरिएको हो।

कार्यक्रममा गाउँपालिकाभित्रका किसान, पशुपालक, कुखुरापालक, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य पशुपन्छीमा फैलिन सक्ने संक्रामक रोगबारे समयमै जानकारी गराई किसानलाई सतर्क बनाउनु, रोगको रोकथामका उपायबारे व्यावहारिक ज्ञान प्रदान गर्नु तथा पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा पशु स्वास्थ्य विज्ञ तथा प्राविधिकहरूले बर्डफ्लु रोगको प्रकृति, संक्रमण फैलिने माध्यम, रोगका प्रारम्भिक लक्षण, जोखिम न्यूनीकरणका उपाय, रोग देखिएपछि अपनाउनुपर्ने सावधानी तथा सरकारी निकायसँग कसरी समन्वय गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए। उनीहरूले बर्डफ्लु केवल कुखुरामा मात्र सीमित नभई समयमै नियन्त्रण गर्न नसकिए पशुपालन क्षेत्र र सार्वजनिक स्वास्थ्य दुवैका लागि चुनौती बन्न सक्ने भएकाले सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका थिए।

विशेषगरी व्यवसायिक तथा घरेलु कुखुरापालन गर्ने किसानलाई फार्ममा जैविक सुरक्षा (बायो–सेक्युरिटी) का मापदण्ड अनिवार्य रूपमा लागू गर्न आग्रह गरिएको थियो। प्राविधिकहरूले फार्ममा नियमित सरसफाइ गर्ने, बाहिरी व्यक्तिको अनावश्यक प्रवेश नियन्त्रण गर्ने, नयाँ ल्याइएका चल्ला वा पन्छीलाई केही समय छुट्टै राख्ने, बिरामी तथा मरेका पन्छीलाई खुला स्थानमा नफालेर सुरक्षित रूपमा व्यवस्थापन गर्ने र कुनै पनि शंकास्पद अवस्था देखिएमा तत्काल गाउँपालिकाको पशु सेवा शाखामा जानकारी गराउन अनुरोध गरेका थिए।

कार्यक्रममा महामारीजन्य रोगको समयमै पहिचान, निगरानी र नियन्त्रण गर्न सकिए पशुधनको क्षति न्यूनीकरण हुनुका साथै किसानको आर्थिक सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो। साथै पशुपन्छीको नियमित स्वास्थ्य परीक्षण, आवश्यक खोप, पशु चिकित्सकको सल्लाह तथा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पालना गर्न किसानहरूलाई प्रेरित गरिएको थियो।

सहभागी किसानहरूले यस्ता जनचेतनामूलक कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले बर्डफ्लु लगायतका संक्रामक रोगबारे व्यवहारिक जानकारी प्राप्त भएको, सुरक्षित पशुपालनका विधि सिक्ने अवसर मिलेको तथा व्यवसायिक उत्पादनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले आगामी वर्षहरूमा पनि वडा–वडामा यस्ता कार्यक्रम सञ्चालन गरी अझ बढी किसानलाई सहभागी गराउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा पशु शाखा प्रमुख राम सुन्दर दास सहित पशु शाखाको टोली, पशु सेवा शाखाका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएका थिए। समापन कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) ठाडीका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।

आयोजक भगवानपुर गाउँपालिकाको पशु सेवा शाखाले पशुपन्छीमा फैलिन सक्ने महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा सुरक्षित पशुपालन प्रवर्द्धनका लागि आगामी वर्षहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने पशु शाखा प्रमुख राम सुन्दर दासले जनाएको छ। शाखाका अनुसार स्थानीय तहको सक्रियता, किसानको जिम्मेवार सहभागिता, समयमै सूचना आदान–प्रदान तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन सके महामारीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास लिइएको छ।

भगवानपुर गाउँपालिकाले पशुपालन क्षेत्रलाई आधुनिक, सुरक्षित र दिगो बनाउने उद्देश्यअनुसार किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। यस प्रकारका जनचेतनामूलक अभियानले किसानमा रोगप्रति सचेतना वृद्धि गर्नुका साथै पशुधन संरक्षण, खाद्य सुरक्षा तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

अतिविपन्न महिलालाई व ...

रहमुल सिरहा, २६ असार । सिरहाको भगवानपुर गाउँपालिकाले सिलाई व्यवसायमा संलग्न अतिविपन्न, दलित, गरिब तथ ...

सीपबाट आत्मनिर्भरतात ...

रहमुल, लहान, २६ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘जनतासँग गाउँपालिका ...

सखुवानन्कारकट्टी–५ स ...

रहमुल, लहान, २६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित स्वास्थ्य चौकीमा सेवाप्रवाह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१