Siraha Times
ताजा समाचार

सीपबाट आत्मनिर्भरतातर्फ बलान बिहुलका महिला : ७ दिने मैनबत्ती तालिम सम्पन्न

  • असार २६, २०८३
  • ४२० पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, २६ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘जनतासँग गाउँपालिका अध्यक्ष’ कार्यक्रमअन्तर्गत महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ७ दिने मैनबत्ती बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाले महिलालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित सञ्चालन गरेको उक्त तालिम २०८३ असार १ गतेदेखि ७ गतेसम्म गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो। तालिममा गाउँपालिकाका विभिन्न वडाबाट छनोट भएका ४० जना महिलाको सक्रिय सहभागिता रहेको थियो।

तालिमको आयोजना सगरमाथा सामुदायिक विकास केन्द्र नेपाल, बलान बिहुल गाउँपालिका–४, सप्तरी ले गरेको थियो भने बलान बिहुल गाउँकार्यपालिकाको कार्यालय, मल्हनिया ले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

समापन समारोहमा आयोजक संस्थाका अध्यक्ष कृष्ण देव यादव को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर महिलाहरूले आफ्नै गाउँमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। महिलालाई आत्मनिर्भर बनाउने अभियान गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनले बताए।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सञ्जीव कुमार शर्मा र दुर्गेन्द्र मगहैया ले यस्ता व्यावसायिक तालिमले महिलाको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको उपयोग गर्दै बजारको मागअनुसार उत्पादन गर्न सके साना घरेलु उद्योगमार्फत राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ थियो।

तालिममा प्रशिक्षक चनदेश्वर कामती र सुनिता कुमारी कामती ले मैनबत्ती उत्पादनका लागि आवश्यक कच्चा पदार्थको छनोट, उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन, प्याकेजिङ, लागत निर्धारण तथा बजारीकरणका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिम अवधिभर विभिन्न प्रकारका मैनबत्ती उत्पादनको अभ्याससमेत गरेका थिए।

तालिममा सहभागी महिलाहरूले नयाँ सीप सिक्ने अवसर प्राप्त भएको र अब आफ्नै गाउँमा सानो उद्यम सञ्चालन गरी परिवारको आम्दानी बढाउने आत्मविश्वास जागेको बताएका छन्। उनीहरूले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिए ग्रामीण महिलाको आर्थिक अवस्था सुधार गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे। बलान बिहुल गाउँपालिकाले आगामी दिनमा पनि महिलालाई सीप, उद्यम र रोजगारीसँग जोड्ने उद्देश्यले यस्तै आयआर्जनमूलक तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्दै आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र सशक्त महिला समुदाय निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१