Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी–५ स्वास्थ्य चौकीमा सेवाप्रति लापरवाहीको आरोप, स्थानीय आक्रोशित; कर्मचारीको मासिक मूल्यांकन गर्न माग

  • असार २६, २०८३
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित स्वास्थ्य चौकीमा सेवाप्रवाह प्रभावकारी नभएको भन्दै स्थानीयवासीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। स्वास्थ्य चौकीमा आधा दर्जनभन्दा बढी कर्मचारी कार्यरत रहे पनि २५ असारको अनुगमनका क्रममा जम्मा तीन जना कर्मचारी मात्र कार्यालयमा उपस्थित देखिएको स्थानीयको दाबी छ। 

उपस्थित कर्मचारीहरू पनि मोबाइल फोनमा व्यस्त रहेको तथा त्यस समयमा कुनै पनि बिरामी सेवा लिन नआएको अवस्था देखिएको थियो। स्थानीयका अनुसार अन्य कर्मचारीहरू कहाँ गएका थिए भन्ने विषयमा कुनै जानकारी उपलब्ध गराइएको थिएन। स्वास्थ्य चौकी परिसरभित्र रहेको आयुर्वेद सेवा समेत बन्द अवस्थामा देखिएको उनीहरूको भनाइ छ।

यस विषयमा स्वास्थ्य चौकी इन्चार्जसँग टेलिफोनमार्फत सम्पर्क गर्दा उनले आफू कार्यालय बाहिर रहेको र "सूचना अधिकारीसँग सम्पर्क गर्नुहोस्, म भोलि आएर कुरा गर्छु" भन्ने प्रतिक्रिया दिएका थिए। अनुगमनका क्रममा प्रत्येक कोठामा मानिस नभए पनि पंखा लगातार चलिरहेको देखिएको थियो। यसबारे स्थानीयले जनताको करबाट सञ्चालन हुने सरकारी कार्यालयमा विद्युत् तथा सरकारी स्रोत–साधनको दुरुपयोग किन भइरहेको छ भन्ने प्रश्न उठाएका छन्।

स्थानीयवासीको भनाइ अनुसार जनताको करबाट तलब खाने कर्मचारी नागरिकप्रति उत्तरदायी र सेवामुखी हुनुपर्ने भए पनि स्वास्थ्य चौकीमा त्यस्तो व्यवहार नदेखिएको आरोप छ। सरकारले स्वास्थ्य सेवा सहज बनाउन आवश्यक जनशक्ति र व्यवस्थापन उपलब्ध गराए पनि सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसकेको उनीहरूको गुनासो छ।

हाल स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको काम भइरहेकाले अस्पताल परिसरभित्र सेवा लिन आउने नागरिकलाई आवतजावतमा कठिनाइ भइरहेको छ। निर्माण सामग्रीका कारण बाटो अवरुद्ध हुँदा बिरामी तथा सेवाग्राहीलाई थप समस्या भएको भन्दै स्थानीयले तत्काल सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न माग गरेका छन्।

स्थानीयहरूले नागरिकको सेवामा समर्पित भएर काम गर्न नसक्ने कर्मचारीलाई स्वास्थ्य चौकीबाट हटाई जिम्मेवार र सेवामुखी कर्मचारी खटाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार स्वास्थ्य चौकीका कर्मचारीबीच आपसी समन्वयको अभाव देखिन्छ भने नागरिकलाई गुणस्तरीय सेवा दिन पनि रुचि नदेखिएको गुनासो छ। आरोग्य केन्द्र र बर्थिङ सेन्टरसमेत नियमित र समयमै सञ्चालन नहुने गरेको स्थानीयको आरोप छ।

स्थानीय सरकारद्वारा स्वास्थ्य क्षेत्रमा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भइरहेको अवस्थामा कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको अनुगमन र कार्यसम्पादन मूल्यांकनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीयवासीले औँल्याएका छन्।

स्थानीयको माग अनुसार गाउँपालिकाले स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण कर्मचारीको मासिक कार्यप्रगति प्रतिवेदन अनिवार्य रूपमा लिने, नियमित अनुगमन गर्ने र लापरवाही पुष्टि भए आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१