Siraha Times
ताजा समाचार

सडक निर्माणमा लापरवाहीको आरोप : सितापुर–नरगी सडक हिलामय, स्थानीयको दैनिकी कष्टकर

  • असार १९, २०८३
  • ३५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १९ असार । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका–६ अन्तर्गत सितापुरदेखि नरगी हुँदै भारतको पिपराही जोड्ने मुख्य सडक निर्माण कार्यमा देखिएको व्यवस्थापकीय कमजोरीप्रति स्थानीयले गम्भीर असन्तुष्टि जनाएका छन्। वर्षायाममै सडक निर्माण गरिए पनि पानी निकासको उचित व्यवस्था नगर्दा सडक हिलामय बनेको र सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।

नेपाल–भारत जोड्ने महत्वपूर्ण सडक भएकाले यस मार्गबाट दैनिक रूपमा स्थानीय, व्यापारी तथा सवारीसाधनको उल्लेख्य आवतजावत हुने गर्दछ। तर सडकको जीर्ण अवस्था र निर्माण कार्यमा देखिएको लापरवाहीका कारण यातायात सञ्चालन प्रभावित हुनुका साथै स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित भएको स्थानीय बताउँछन्। चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेश सरकारको ६० लाख रुपैयाँ लागतमा सितापुर बजारदेखि दक्षिणतर्फ ग्राभेलसहित सडक स्तरोन्नतिको काम भइरहेको छ।

तर निर्माणस्थलमा पानी निकासको व्यवस्था नगरिँदा घरायसी धारा तथा वर्षाको पानी सडकमै जमेर हिलो बनेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार सडक निर्माणअघि वा निर्माणकै क्रममा अस्थायी नाली व्यवस्थापन गरिएको भए अहिलेको समस्या आउने थिएन। हिलामय सडकका कारण विद्यालयका बस, एम्बुलेन्स, अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा पैदल यात्रु सबैभन्दा बढी प्रभावित भएका छन्। आकस्मिक अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउन समेत कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीले निर्माण कार्यको नियमित अनुगमनमा वडा कार्यालय तथा सम्बन्धित निकायले पर्याप्त चासो नदिएको आरोप लगाएका छन्। विकास निर्माणका योजना जनताको आवश्यकता र सहजतालाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन नसकेको उनीहरूको गुनासो छ। स्थानीयहरूले प्रदेश सरकारको बजेटबाट सञ्चालन भइरहेका योजनामा वडा कार्यालयले प्रभावकारी अनुगमन गरी गुणस्तरीय निर्माण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

साथै योजना कार्यान्वयनका क्रममा स्थानीयको सुझाव र आवश्यकतालाई समेत प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ। यता, सितापुरदेखि लतियाही जोड्ने सडक तथा धार्मिकस्थल माँ बौकी देवी मन्दिर जाने बाटोको निर्माण योजनालाई लिएर पनि स्थानीयले प्रश्न उठाएका छन्। वडा स्तरीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ लागतमा माटो भर्ने काम भइरहेको भए पनि अत्यावश्यक स्थानलाई प्राथमिकता नदिइएको उनीहरूको आरोप छ।

स्थानीयका अनुसार २०७५ सालदेखि नियमित रूपमा मेला तथा महोत्सव सञ्चालन हुँदै आएको माँ बौकी देवी स्थान जाने मुख्य सडक जीर्ण अवस्थामा रहे पनि त्यसको मर्मतलाई प्राथमिकतामा नराखिएको छ। यसले भक्तजन तथा किसान दुवैलाई आवतजावतमा समस्या भइरहेको स्थानीय राजकुमार साहले बताए। स्थानीय ईश्वरलाल पासमानका अनुसार योजनाको उद्देश्यअनुसार आवश्यक स्थानमा काम नगरी अन्यत्र मात्र माटो भरिएको देखिएकाले योजनाको प्रभावकारितामाथि नै प्रश्न उठेको छ।

उनका अनुसार २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय आवश्यकता अनुसार सडक तथा पूर्वाधार विकासमा अपेक्षाकृत राम्रो काम गरे पनि पछिल्लो चार वर्षमा साविक सितापुर गाविसका विभिन्न टोलका शाखा सडक स्तरोन्नतिमा अपेक्षित पहल हुन सकेको छैन। यस विषयमा वडा अध्यक्ष अजय कुमार यादवको कार्यशैलीप्रति पनि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

साविक वडा नम्बर ५, ६, ७ अन्तर्गतको सितापुर टोल तथा वडा नम्बर ३ र ४ अन्तर्गत कल्याणपुर टोलका शाखा सडकको स्तरोन्नतिमा पर्याप्त ध्यान नदिइएको उनीहरूको आरोप छ। स्थानीयवासीले विकास निर्माणका योजना प्रभावकारी बनाउन वडा कार्यालय, गाउँपालिका, प्रदेश सरकार तथा निर्माण कम्पनीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। निर्माणाधीन सडकसहित सबै योजनाको नियमित अनुगमन, पारदर्शिता र गुणस्तरीय कार्यान्वयन सुनिश्चित गरी जनअपेक्षाअनुसार विकास निर्माण गर्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१