Siraha Times
ताजा समाचार

सखुवा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४८२ जनाले पाए विशेषज्ञ स्वास्थ्य सेवा

  • जेठ २४, २०८३
  • ४७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ जेठ। पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर पञ्चगावामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४८२ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। सखुवा प्रसौनी गाउँपालिकाको समन्वय, पर्सा ख्रिष्टियन समाज वीरगञ्जको आयोजनामा तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग तथा जनरल मेडिसिन सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिविरमा सहभागी बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको पर्सा ख्रिष्टियन समाजले जनाएको छ। शिविरमा रक्तचाप, मधुमेह परीक्षण, नाडी जाँच, तौल मापन, इसिजी (ECG) तथा ईको (ECHO) जस्ता आधुनिक स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइएको थियो। नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवले ग्रामीण भेगका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि शिविरले ठूलो राहत प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतनाको अभाव अझै रहेको उल्लेख गर्दै शिविरमार्फत धेरै बिरामीको प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न सफल भएको बताउनुभयो।

उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत नेशनल मेडिकल कलेजले यस्ता मानवीय सेवामा निरन्तर सहयोग गर्दै जाने जानकारी दिनुभयो। शिविरकै अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। साथै, नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि स्वास्थ्य सहकार्यका लागि छुट्टै सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार शिविरमा सहभागी बिरामीहरूले नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामप्रसाद घिमिरेले गर्नुभएको थियो।

शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दाससहित मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह तथा जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१