रहमुल, लहान, २४ जेठ । सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पस द्वारा आयोजित प्रथम राष्ट्रिय सम्मेलन–२०२६ (1st National Conference–2026) सफलतापूर्वक सम्पन्न भएको छ। “उच्च शिक्षण संस्थामा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा शैक्षिक–औद्योगिक सहकार्य” भन्ने मूल विषयमा केन्द्रित सम्मेलनले उच्च शिक्षाको गुणस्तर, व्यावहारिकता तथा रोजगारमुखी शिक्षाका विषयमा गहन बहस र छलफललाई नयाँ उचाइ दिएको सहभागीहरूले बताएका छन्।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय, क्याम्पस तथा अनुसन्धान संस्थासँग आबद्ध प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी, नीति निर्माता तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलनमा उच्च शिक्षामा नेतृत्व विकास, नवप्रवर्तन, अनुसन्धान, उद्यमशीलता तथा उद्योगसँगको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विभिन्न कार्यपत्र प्रस्तुत तथा छलफल गरिएको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी ले शिक्षा नै समाज र राष्ट्र विकासको मूल आधार भएको उल्लेख गर्दै “शिक्षा बिना कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन” भन्नुभयो। उहाँले राष्ट्रियस्तरको सम्मेलन आयोजना गरी शैक्षिक बहसलाई अगाडि बढाएकोमा जे.एस. मुरारका बहुमुखी क्याम्पसप्रति आभार व्यक्त गर्नुभयो।
मेयर चौधरीले बदलिँदो समयअनुसार शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी सीप, नेतृत्व क्षमता र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै शैक्षिक संस्थाहरूले अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सम्मेलनमा वक्ताहरूले वर्तमान उच्च शिक्षा प्रणालीलाई समयसापेक्ष, व्यावहारिक तथा उत्पादनमुखी बनाउन शैक्षिक संस्था, उद्योग क्षेत्र र सरकारी निकायबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए। उनीहरूले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने क्षमतासहितको जनशक्ति बनाउन उद्यमशीलता शिक्षामा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याए।
सम्मेलनले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूबीच अनुभव, ज्ञान र अनुसन्धानका उपलब्धिहरू आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको भनाइ छ। प्रस्तुत गरिएका अनुसन्धानमूलक कार्यपत्र र छलफलहरूले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, नेतृत्व विकास तथा उद्योग–शिक्षा सम्बन्ध सुदृढ बनाउन थप मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ।
आयोजकले यस्ता शैक्षिक सम्मेलनहरूले केवल शैक्षिक बहसलाई मात्र होइन, अनुसन्धान संस्कृति विकास, नवप्रवर्तन प्रवर्द्धन तथा राष्ट्रिय विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सम्मेलनको सफल आयोजनाका लागि सहभागी, वक्ता, प्रस्तोता, अतिथि तथा सहयोगी सम्पूर्ण पक्षप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस
उच्च शिक्षामा नेतृत्व, उद्यमशीलता र उद्योग–शिक्षा सहकार्यको बहस : जे.एस. मुरारका क्याम्पसको राष्ट्रिय सम्मेलन सम्पन्न
विकासप्रेमी वडाध्यक्ष अमित ठकुरीद्वारा मधेशका मुख्यमन्त्रीसँग भेट: बजेटमा खानेपानी, सडक र उदयपुर जोड्ने योजना समेट्न माग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic