Siraha Times
ताजा समाचार

धनगढीमाईमा कृषि तथा पोषण मेला सम्पन्न : किसान सशक्तीकरण, पोषण सुधार र बजार व्यवस्थापनमा जोड

  • जेठ २१, २०८३
  • ५२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेष्ठ २१ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ सिरहाको धनगढीमाई नगरपालिकाको कृषि बजारस्थित कृषि बजारमा कृषि तथा पोषण मेला आज जेष्ठ २१ गते सम्पन्न भएको छ। “Nurture Every Future: Poshan Nepal” अभियानसँग सहकार्यमा आयोजित उक्त मेलाले स्थानीय किसान, कृषक समूह, सहकारी संस्था तथा सरोकारवालाहरूलाई एउटै थलोमा जुटाई कृषि उत्पादन, पोषण तथा बजार व्यवस्थापनबारे ज्ञान, अनुभव र प्रविधि आदान–प्रदान गर्ने प्रभावकारी अवसर प्रदान गरेको छ।

मेलाको आयोजना राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, धनगढीमाई नगरपालिका तथा CARE iDE को संयुक्त सहकार्यमा गरिएको थियो । कार्यक्रमले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, पोषणसम्बन्धी जनचेतना अभिवृद्धि तथा किसानहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्या्एको छ। मेलामा स्थानीय किसानहरूले अन्नबाली, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, माछा तथा परम्परागत बीउबिजनलगायतका विविध कृषि उत्पादनहरूको आकर्षक प्रदर्शनी गरेका थिए। यसका साथै पोषणसम्बन्धी सचेतनामूलक स्टल, बाल तथा महिला पोषणका उपायहरू, स्थानीय खाद्य परिकारहरूको प्रदर्शनी तथा पोषणसम्बन्धी व्यवहारिक जानकारीले कार्यक्रमलाई थप प्रभावकारी र ज्ञानवर्द्धक बनाएको थियो।

कार्यक्रमको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर शिव शंकर महतोले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन यस्ता मेलाहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्न, कृषिमा नवीन प्रविधि भित्र्याउन तथा पोषण सुधारमा जनचेतना फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। मेलामा सहभागी किसानहरूले आधुनिक कृषि उपकरण, जैविक खेती प्रविधि, बाली संरक्षणका उपाय, पशुपालनसम्बन्धी नवीनतम जानकारी तथा बजार व्यवस्थापनका विविध पक्षबारे जानकारी प्राप्त गरेका थिए। प्राविधिकहरूले मल–बीउको उचित प्रयोग, माटो परीक्षण, जलवायु परिवर्तनअनुकूल खेती प्रणाली, खाद्य सुरक्षा र पोषणबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण प्रदान गरेका थिए।

प्रदर्शनी मेलामा महिला कृषकहरूको सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो। महिला कृषकहरूले घरायसी बगैँचा (किचन गार्डेन), पोषणयुक्त आहार उत्पादन, साना उद्यममार्फत आयआर्जन तथा परिवारको पोषण सुधारका उपायहरू प्रस्तुत गरेका थिए। यसले ग्रामीण महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षण स्थानीय बालबालिकाका लागि सञ्चालन गरिएको पोषण शिक्षासम्बन्धी कार्यक्रम थियो। उक्त कार्यक्रममा सन्तुलित आहार, व्यक्तिगत सरसफाइ, स्वास्थ्यका आधारभूत विषय तथा पोषणयुक्त खानपानका महत्त्वबारे जानकारी दिइएको थियो। यसले भावी पुस्तालाई स्वस्थ, सक्षम र सचेत बनाउन सहयोग पुग्ने आयोजकहरूको विश्वास रहेको छ।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, धनागढ़ीमाइ नगरपालिकाका अध्यक्ष राम सागर यादवको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा धनगढीमाई नगरपालिकाको अध्यक्ष शिव शंकर महतो उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाकी उपाध्यक्ष संगीता चौधरी, स्वास्थ्य शाखा प्रमुख विशेश्वर यादव, स्वास्थ्य शाखाका सहायक प्रकाश परियार, पशु शाखा प्रमुख जीव नारायण यादव,पशु शाखा सहायक राम प्रसाद, राष्ट्रिय कृषक समूह महासंघ नेपालका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डित , डिलिता साह, राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष अमिर लाल यादव लगायतको उपस्थिति रहेको थियो।

मेलामा विभिन्न संघ–संस्था, कृषि विज्ञ, सहकारी प्रतिनिधि, कृषक समूह तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, कृषकका उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने, आधुनिक प्रविधिमा पहुँच बढाउनुपर्ने तथा किसानलाई आवश्यक सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए। कार्यक्रमअन्तर्गत किसानहरूले ल्याएका कृषि उत्पादन तथा प्रदर्शनी सामग्रीको मूल्यांकन गरी उत्कृष्ट कृषक समूहहरूलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१