रासिन्द्र कुमार यादव सप्तरी , जेठ २० । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोदेबर्साइन ५, सप्तरीको आयोजनामा “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार बोदेबर्साइन नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, केन्द्र प्रमुख, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षाविद्, पत्रकार तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै केन्द्र प्रमुखहरूको भूमिका थप प्रभावकारी बनाउने उदेश्य रहेको आयोजक संस्थाको प्रबन्ध यदुनन्दन कुमार साहले जनाएको छ।
कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय कटहरी, मोरङबाट सूचना प्रविधि विभागका विभागीय प्रमुख रमेश राय सभाध्यक्षको रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिका रूपमा बोदेबर्साइन नगरपालिकाकी नगर उपप्रमुख रेणु कुमारी साह सहभागी हुनुभएको थियो।
त्यसैगरी बोदेबर्साइन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मो. मोजिबूल रहमान, वडा नं. ९ का वडा अध्यक्ष तपसी यादव, जीवन विकास लघुवित्तका प्रतिनिधि अन्जय कुमार मण्डल, श्री चन्द्र नमूना माध्यमिक विद्यालयका प्र. अ. गौरीशंकर चौधरी, इलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रमुख शिवशंकर शर्मा,चन्द्रा. न. मा. विद्यालयका कला तथा सान्स्कृतिक संयोजक प्रमेश्वर यादव, केन्द्र नं. १८९ की प्रमुख द्रोपदी देवी चौधरी, केन्द्र नं. ०१३ की प्रमुख पुनिता कुमारी साह तथा संस्थाका प्रतिनिधि दिनेश प्रसाद यादब,जीवन बिकास लघुबित बितीय संस्था लि. बोदे बर्साइन शाखाको शाखा प्रमुख तथा कार्यक्रम संयोजक यदुनन्दन कुमार साहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन नन्दकिशोर मण्डलले गर्नुभएको थियो ।स्वागत मन्तव्य राख्दै उहाँले केन्द्र प्रमुख, अभिभावक, सदस्य तथा अतिथिहरूलाई हार्दिक स्वागत गर्दै लघुवित्त संस्थाले ग्रामीण क्षेत्रमा आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा महिला नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्यातउँदै आएको बताउनुभयो।
कार्यक्रममा संस्थाका पदाधिकारीहरूले लघुवित्त सेवाको महत्व, बचत संस्कार, ऋणको सदुपयोग, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवाको प्रयोग तथा उद्यमशीलता विकासका विषयमा प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए। वित्तीय साक्षरता कार्यक्रममा सहभागी सदस्यहरूलाई घरपरिवारको आर्थिक व्यवस्थापन, नियमित बचत, समयमै ऋण भुक्तानी तथा आयआर्जनका अवसरहरूको उपयोगबारे जानकारी प्रदान गरिएको थियो।
प्रमुख अतिथि नगर उप प्रमुख रेणु कुमारी साहले लघुवित्त संस्थाहरूले ग्रामीण तथा विपन्न समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणमा जीवन विकास लघुवित्तको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै वित्तीय शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
सभाध्यक्ष रमेश रायले संस्थाले सदस्यहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले केन्द्र प्रमुखहरू संस्था र सदस्यबीचको महत्वपूर्ण कडी भएकाले उनीहरूको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। साथै वित्तीय अनुशासन, पारदर्शिता र जिम्मेवार ऋण लगानीमार्फत सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउन संस्था प्रतिबद्ध रहेको समेत बताउनुभयो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई प्रमाणपत्र, मायाको चिनो तथा पुरस्कार प्रदान गरिएको आयोजक साहले जनाएको छ। पुरस्कार वितरणले सदस्यहरूमा थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास व्यक्त गरिएको थियो।
सहभागी केन्द्र प्रमुखहरूले कार्यक्रमबाट वित्तीय व्यवस्थापन, बचत तथा उद्यम विकाससम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकेका कुरालाई आफ्ना समूह तथा समुदायमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमको अन्त्यमा आयोजकले उपस्थित सम्पूर्ण अतिथि, जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, केन्द्र प्रमुख, सदस्य तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। वित्तीय साक्षरता, नेतृत्व विकास तथा सदस्यहरूको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर संस्था अगाडि बढिरहेको बताउँदै कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic