Siraha Times
ताजा समाचार

गोलबजार–१३ मा विकासको लहर छाएको अध्यक्ष महतोको दाबी, सडक निर्माणमा भने स्थानीयको असन्तुष्टि

  • जेठ १८, २०८३
  • ३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेष्ठ १८ । गोलबजार नगरपालिका–१३ का वडा अध्यक्ष नन्दकुमार महतो ले आफ्नो कार्यकालमा वडामा विकासको लहर छाएको दाबी गरेका छन्। चुनावका बेला जनतासँग गरेका अधिकांश वाचा तथा प्रतिबद्धता पूरा गरेको भन्दै उनले आफ्नो वडा जिल्लाकै उत्कृष्ट वडामध्ये एक बन्न सफल भएको बताएका छन्।

वडा अध्यक्ष महतोले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए। “मैले जनतासँग गरेको वाचामध्ये धेरैजसो पूरा गरिसकेको छु भने केही योजना कार्यान्वयनको चरणमा छन्। मेरो पहलमा नेपाल सरकारबाट करोडौं रुपैयाँ बजेट ल्याएर विभिन्न विकास निर्माणका काम सम्पन्न गरिएको छ,” उनले भने।

उनका अनुसार वडामा शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा कृषि क्षेत्रको विकासका लागि उल्लेखनीय काम भएका छन्। साथै, प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने अभियान पनि सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए।

कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन किसानका लागि आवश्यक विद्युतीय पूर्वाधार विस्तारमा समेत ध्यान दिइएको महतोको भनाइ छ। हाल जडान गरिएको ट्रान्सफर्मरले किसानको आवश्यकता पूरा गर्न नसकेको भन्दै उनले थप १५० वा २०० केभी क्षमताको ट्रान्सफर्मर जडान गर्ने तयारी भइरहेको जानकारी दिए। “किसानलाई पर्याप्त विद्युत् उपलब्ध गराउन यही असार मसान्तभित्र नयाँ ट्रान्सफर्मर जडान गरिनेछ,” उनले दाबी गरे।

यद्यपि, गोलबजारदेखि दुर्गापुरसम्मको सडक निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गर्दै महतोले त्यसका पछाडि विभिन्न कारण रहेको बताए। “यो बहुवर्षीय योजना अन्तर्गतको सडक हो। गाउँका केही अवरोध, ठेकेदार पक्षको ढिलासुस्ती तथा अन्य प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो। त्यसैले यसमा मेरो दाबी पुग्ने अवस्था रहेन,” उनले स्पष्ट पारे।

उनका अनुसार उक्त सडक निर्माण योजना आर्थिक वर्ष २०८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, वडा अध्यक्षको दाबीप्रति स्थानीयवासी भने पूर्ण रूपमा सहमत देखिएका छैनन्। केही गाउँलेहरूले सडक निर्माणमा भएको ढिलाइका लागि वडा नेतृत्वलाई समेत जिम्मेवार ठहर गर्दै आएका छन्। उनीहरूको आरोप छ कि वडा अध्यक्षले जनगुनासो सुन्ने र समस्या समाधानमा चासो दिने काम पर्याप्त रूपमा गरेका छैनन्।

स्थानीयवासीहरूले गोलबजार–दुर्गापुर सडक समयमै निर्माण हुन नसक्दा आवतजावतमा समस्या भइरहेको गुनासो गरेका छन्। उनीहरूले विकासका अन्य काम भए पनि सडक निर्माणमा देखिएको ढिलाइले जनतालाई सास्ती भोग्नुपरेको बताएका छन्।

एकातिर वडा अध्यक्ष महतोले आफ्नो कार्यकाललाई विकासमुखी र उपलब्धिमूलक रहेको दाबी गरिरहेका छन् भने अर्कोतिर केही स्थानीयले सडक लगायतका आधारभूत पूर्वाधारमा अझै सुधार आवश्यक रहेको बताइरहेका छन्। यसले गोलबजार–१३ मा विकासका उपलब्धि र चुनौती दुवै पक्षलाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको गदियानीमा ना ...

विनोद अविरल, जेठ १८,​सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहा नगरपालिका वडा नम्बर २० गदिय ...

विश्व सुर्तीजन्य पदा ...

रहमुल लहान, १८ जेठ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, लह ...

४९ वर्षपछि भोरलेन वि ...

 विनोद अविरल, जेठ १७ ,​सिराहा, धनगढीमाई । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित आ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१