ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयवासी तथा विभिन्न राजनीतिक दल र जनप्रतिनिधिहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिरोमाईल बजारमा जक्काजाम गरेका छन्। सरकारले भन्सार कार्यालय हटाएको भन्दै आक्रोशित बनेका स्थानीयहरूले तत्काल निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शनलाई थप सशक्त बनाएका हुन्।
सोमबार बिहानदेखि सुरु भएको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो। प्रदर्शनकारीहरूले टायर बालेर, नाराबाजी गर्दै तथा सडकमा धर्ना बसेर सरकारविरुद्ध चर्को विरोध जनाएका थिए। “बरियारपट्टी छोटी भन्सार कायम गर”, “स्थानीयको अधिकार खोस्न पाइँदैन”, “सरकारको निर्णय फिर्ता गर” लगायतका नाराले जिरोमाईल बजार क्षेत्र दिनभरि गुञ्जिएको थियो। आन्दोलनमा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष,औरही गाउँपालिकाका अध्यक्ष सहित विभिन्न पालिकाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। आन्दोलनलाई राजनीतिक समर्थनसमेत प्राप्त भएको छ। नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसहित विभिन्न दलका नेताहरूले आन्दोलनस्थलमै पुगेर सरकारलाई जनभावनाको सम्मान गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस सभापति रामचन्द्र यादवले सरकारले जनताको भावना विपरीत निर्णय लिन नहुने बताउँदै बरियारपट्टी छोटी भन्सार कार्यालय स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे। उनले हजारौं स्थानीय व्यापारी, किसान र श्रमिकको जीवनसँग जोडिएको कार्यालय हटाउने प्रयास तत्काल रोक्न सरकारसँग माग गरे।
स्थानीय व्यापारीहरूका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय सञ्चालनमा रहँदा सीमावर्ती व्यापार सहज हुनुका साथै राजस्व संकलनमा समेत टेवा पुगेको छ। कार्यालय हटाइएपछि स्थानीय व्यवसाय प्रभावित हुने, बेरोजगारी बढ्ने तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ। आन्दोलनकारीहरूले सरकारले चाँडो समस्या समाधान नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। उनीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्नुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।
यता स्थानीय प्रशासनले आन्दोलनकारीसँग वार्ताको प्रयास भइरहेको जनाएको छ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिरोमाईल क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
बलान बिहुल गाउँपालिकामा चारदिने अनुगमन तथा मूल्याङ्कन अन्तरक्रिया सम्पन्न, सुशासन र प्रभावकारी सेवा प्रवाहमा जोड
भगवानपुर गाउँपालिकामा बर्डफ्लु तथा महामारीजन्य पशुरोग नियन्त्रण सम्बन्धी तीनदिने जनचेतना कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic