विनोद अविरल गोलबजार (सिराहा), १० जेठ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३, गोलास्थित ऐतिहासिक एवं धार्मिक स्थल 'धमनी थान' परिसर वरिपरि प्राचीन तथा पुरातात्विक महत्वका सामग्रीहरू फेला परेका छन् । स्थानीयस्तरमा अध्ययन र अवलोकनका क्रममा उक्त क्षेत्रमा तत्कालीन समयमा युद्धमा प्रयोग हुने हातहतियार तथा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू फेला परेका हुन् ।
फेला परेका वस्तुहरूमा प्राचीन स्वरूपका भाला, हँसिया, विभिन्न प्रकारका मालाहरू र युद्धकालीन समयका अन्य ऐतिहासिक सामग्रीहरू रहेका छन् । धमनी थान आसपासको क्षेत्रमा यसरी खुला रूपमा बहुमूल्य पुरातात्विक वस्तुहरू भेटिनुले यस क्षेत्रको ऐतिहासिक र सामरिक महत्व उच्च रहेको संकेत गर्दछ । विज्ञहरूका अनुसार यी सामग्रीहरू कुन कालखण्डका हुन् र यस क्षेत्रको इतिहाससँग कसरी जोडिएका छन् भन्नेबारे विस्तृत अनुसन्धान हुन जरुरी छ ।
स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले यी बहुमूल्य ऐतिहासिक धरोहरहरू अलपत्र अवस्थामा फेला परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता पुरातात्विक सामग्रीहरूको उचित संरक्षण, उत्खनन र वैज्ञानिक अनुसन्धानका लागि पुरातत्व विभाग, गोलबजार नगरपालिका तथा स्थानीय प्रशासनको तत्काल ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । समयमै संरक्षण नगरिए यी ऐतिहासिक प्रमाणहरू हराएर वा नष्ट भएर जाने खतरा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
गोलबजारको गोला धमनी थान परिसरमा फेला परे पुरातात्विक सामग्री: संरक्षणका लागि निकायहरूको ध्यानाकर्षण जरुरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic