रहमुल, लहान, १० जेठ । नेपाल सरकारकी उपसभामुख रुबीकुमारी ठाकुर ले सिरहास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्दै मधेशको सांस्कृतिक पहिचानसँग जोडिएका स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनमा संघीय सरकारले विशेष चासो लिनुपर्ने बताउनुभएको छ।
उपसभामुख ठाकुरले शनिबार लहान नगरपालिका–२२ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सलहेस फूलवारी तथा लहान–१५ मा रहेको राजदेवी पञ्चावती मन्दिरको अवलोकन तथा पूजाआजा गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले लोकनायक राजा सलहेसको इतिहास, संस्कृति र जनविश्वाससँग जोडिएको सलहेस फूलवारीलाई मधेश मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले यति महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाको विकासमा अपेक्षित लगानी हुन नसकेको भन्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपसभामुख ठाकुरले वीरता, प्रेम र सामाजिक समानताको प्रतीक मानिने राजा सलहेसको गाथालाई आधुनिक समाजसँग जोड्नुपर्ने धारणा राख्दै सलहेस फूलवारीलाई “दाइजोविनाको विवाह गर्ने स्थल” का रूपमा विकास गर्न सके समाजमा व्याप्त दाइजो प्रथा न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको पहिलो बैठकमै मैले दाइजोमुक्त समाज निर्माणका लागि आवाज उठाइसकेको छु। समाज परिवर्तनका लागि यस्ता सांस्कृतिक र सामाजिक अभियानलाई निरन्तरता दिन सम्बन्धित निकायमा पहल गरिरहनेछु।” मधेशमा दाइजो प्रथाले अझै गहिरो जरा गाडेको उल्लेख गर्दै उहाँले सामूहिक प्रयास, जनचेतना र सामाजिक अभियानमार्फत यसको अन्त्य सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।
भ्रमणका क्रममा सलहेस फूलवारी संरक्षण समितिले उपसभामुख ठाकुरसमक्ष फूलवारी क्षेत्रको १२ बिघा जग्गामध्ये करिब तीन बिघा अतिक्रमणमा परेको जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराई संरक्षण तथा व्यवस्थित विकासका लागि पहल गरिदिन आग्रह गरेको थियो। सलहेश पर्यटकीय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा मन्दिरका पुजारी जितेन्द्र सिंह लगायतले सलहेस मन्दिर, मालिनी मन्दिर, चिल्ड्रेन पार्क निर्माण तथा “सलहेस सर्किट मार्ग” निर्माणको मागसहित ज्ञापनपत्र उपसभामुखमार्फत नेपाल सरकारलाई बुझाएका छन्।
ज्ञापनपत्रमा सिरहाको मैसोथा स्थित राजा सलहेस मन्दिरदेखि पटारी पोखरी, सलहेस फूलवारी, मानिक दह, पकडिया गढ, पञ्चावती राजदेवी मन्दिर, हाती दह, देवी दह हुँदै ब्रम्हान गोर्छारीसम्म सडक सञ्जाल व्यवस्थित गर्नुपर्ने माग गरिएको छ। स्थानीय जानकारहरूका अनुसार सलहेस सर्किटलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना सिर्जना हुने, दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिने र हजारौं युवाले रोजगारी पाउने अवस्था बन्न सक्छ।
स्थानीयवासीका अनुसार केही वर्षअघि सरकारले सिरहादेखि सलहेस फूलवारीसम्म “सलहेस मार्ग” निर्माण कार्य सुरु गरे पनि सुखीपुर पश्चिमको गाँगन नदीसम्म मात्रै कालोपत्रे गरिएको छ। बाँकी खण्डमा सडक ग्राभेल गरेर छाडिएको अवस्था रहेको र निर्माण भएका सडकसमेत जीर्ण बन्दै गएको गुनासो स्थानीयको छ। हाल सरकारले सिरहादेखि हुलाकी सडक हुँदै बरियारपट्टीसम्म तथा बरियारपट्टीदेखि पटारी पोखरी हुँदै रामपुर पिपरासम्म नयाँ सडक विस्तार गरे पनि त्यसलाई लोकमार्गसँग पूर्ण रूपमा जोड्ने योजना अझै अधुरै रहेको बताइएको छ।
यता लहान नगरपालिका ले सलहेस सर्किटलाई लक्षित गरी विभिन्न भौतिक संरचना निर्माण गरिसकेको छ। स्थानीय बुद्धिजीवीहरूका अनुसार लोकनायक राजा सलहेसको ऐतिहासिक गाथालाई पर्यटनसँग जोड्न सके सिरहा जिल्ला धार्मिक, सांस्कृतिक तथा ग्रामीण पर्यटनको केन्द्र बन्न सक्ने सम्भावना प्रबल छ। लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमणका क्रममा उपसभामुख ठाकुरले मन्दिरको व्यवस्थापन र संरक्षण कार्यको प्रशंसा गर्दै सलहेस सर्किटसँग राजदेवी मन्दिरलाई समेत जोडेर एकीकृत धार्मिक पर्यटकीय विकास अघि बढाइने बताउनुभयो।
स्थानीयवासीहरूले विगतमा धेरै उच्च तहका विशिष्ट व्यक्तित्वहरूले सलहेस फूलवारी विकासका लागि प्रतिबद्धता जनाए पनि ठोस कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै यसपटक उपसभामुखको भ्रमणपछि व्यवहारिक काम अगाडि बढ्ने अपेक्षा गरेका छन्। स्थानीयको भनाइमा, “प्रतिबद्धता धेरै आए, तर काम कम भयो। यसपटक गरिमामय पदमा रहेकी उपसभामुख स्वयं आएर अवलोकन गर्नुभएको छ। अब कार्यान्वयन कति हुन्छ, त्यो हेर्न बाँकी छ।”
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic