Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा

  • जेठ १०, २०८३
  • ५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धती र व्यवहारः समृद्ध सुरुङ्गाको आधार” भन्ने मूल नाराका साथ शुक्रबार वडाको भेडिया बजारमा एक भव्य कार्यक्रमको आयोजना गरी वडा घोषणा सभा–२०८३ सम्पन्न गरिएको हो ।

बालअधिकारको संरक्षण, संवर्द्धन र बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सूचकहरू पूरा गरेपछि यस वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन वडा समिति, सुरुङ्गा नगरपालिकाको आयोजना र सुरुङ्गा नगरपालिका वडा नं. २ कार्यालय, भेडियाको सहयोगमा यो ऐतिहासिक सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सफल बनाउन विकास साझेदार संस्थाहरू Save the Children र सबल नेपाल (SABAL NEPAL) ले समन्वय तथा सहकार्य गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले औपचारिक रूपमा वडालाई बालमैत्री घोषणा गरेकी थिइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्दै स्थानीय तहलाई बालमैत्री बनाउनु वर्तमान समयको मुख्य आवश्यकता भएको बताइन् ।

“बालमैत्री वडा घोषणाले सुरुङ्गा नगरपालिकालाई अझ व्यवस्थित, जिम्मेवार र समृद्ध स्थानीय सरकारका रूपमा स्थापित गर्न बलियो सहयोग पुग्नेछ,” नगर प्रमुख चौधरीले विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा नगरपालिकाका अन्य वडाहरूलाई पनि क्रमशः बालमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाइन् ।

वडा नं. २ का वडा अध्यक्ष अर्जुनराज खपांगी मगरको अध्यक्षतामा सम्पन्न उक्त घोषणा सभामा स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख रुद्रबहादुर कार्की तथा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास सहभागी भई बालमैत्री अवधारणालाई दिगो बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुरुङ्गा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूले समेत ऐक्यबद्धता जनाएका थिए । वडा नं. ४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, वडा नं. ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, र कार्यपालिका सदस्य हिरा कुमारी चौधरी लगायतले बालमैत्री वडा बनाउन चालिएका कदमहरूको प्रशंसा गर्दै यसको व्यवहारिक कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, बालमैत्री अभियानमा प्राविधिक तथा सामाजिक सहयोग पुर्‍याउँदै आएका Save the Children का वरिष्ठ कार्यक्रम संयोजक मकर बहादुर सार्की, सबल नेपाल (SABAL NEPAL) का फिल्ड संयोजक अशोककुमार साह, भुपेश कुमार साह र रोशन कुमार मण्डलले बालमैत्री शासनका सूचकहरूलाई दिगो राख्न निरन्तर अनुगमनको आवश्यकता औंल्याए ।

सुरक्षा निकायका तर्फबाट इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक पूर्ण कुमार राईले बालबालिकामाथि हुने हिंसा र बालश्रम न्यूनीकरणमा प्रहरीले शून्य सहनशीलता अपनाउने बताए । कार्यक्रममा शिशुवारी क्याम्पसका प्रमुख, बाल कल्याण अधिकारी शाखा प्रमुख रिंकु कुमारी यादव, तथा बालमैत्री सुपरभाइजर विशेन्द्र पासमान लगायतको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरीक्षक मुना समाल मगरले गरेकी थिइन् ।

घोषणा सभामा बोल्ने वक्ताहरूले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण, बालबालिकाको अनिवार्य शिक्षा र सुरक्षित बालमैत्री वातावरण निर्माणका विषयमा विशेष जोड दिएका थिए । स्थानीय शासनमा बालबालिकाको आवाजलाई प्राथमिकता दिँदै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सम्भव भएको धारणा वक्ताहरूले राखेका थिए ।

वडा नं. २ लाई बालमैत्री वडा घोषणा गरिनुलाई स्थानीय सरकार, नागरिक समाज, विद्यालय, अभिभावक, बाल क्लब तथा विभिन्न सरोकारवाला निकायहरूबीचको लामो समयदेखिको संयुक्त प्रयास र सहकार्यको ठूलो उपलब्धिको रूपमा हेरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, अभिभावक, विभिन्न बाल क्लबका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो । बालकालिकाहरूले विभिन्न चेतनामूलक सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१