ताजा समाचार

घलेटोल मुसहर बस्तीमा खुसीको बहार : २० सुकुमवासी परिवारलाई पक्की घर हस्तान्तरण

  • जेठ ९, २०८३
  • ५८० पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ९ जेठ । सिरहाको लहान नगरपालिका–१३ स्थित घलेटोल मुसहर बस्ती शुक्रबार उत्सवमय बनेको छ । वर्षौंदेखि फुसको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका २० सुकुमवासी मुसहर परिवारले अन्ततः सुरक्षित र व्यवस्थित पक्की घर पाएका छन् । लहान नगरपालिका को “विपन्नका लागि सुरक्षित आवास कार्यक्रम” अन्तर्गत निर्माण गरिएका ती घरहरू नगरप्रमुख महेशप्रसाद चौधरी ले एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

वर्षायाममा छानो चुहिने, हिउँदमा शीतले कठ्याङ्ग्रिने र साँघुरो झुप्रोभित्र परिवारसँगै रात काट्नुपर्ने बाध्यता अब इतिहास बनेको स्थानीयवासीले बताएका छन् । पुस्तौँदेखि अभाव र असुरक्षाबीच जीवन बिताइरहेका मुसहर समुदायका परिवारका लागि यो केवल घर हस्तान्तरण कार्यक्रम मात्र नभई सम्मानित जीवनतर्फको नयाँ सुरुवात बनेको उनीहरूको भनाइ छ ।

नवनिर्मित प्रत्येक घरमा दुईवटा बस्ने कोठा र एउटा भान्सा कोठा रहेको छ । घरमाथि जस्तापाता लगाइएको छ भने बाँसको संरचनामा प्लास्टर गरी मजबुत ढंगले निर्माण गरिएको छ । प्राविधिकहरूका अनुसार यी घरहरूको आयु ३० वर्षभन्दा बढी रहनेछ ।

यस परियोजनामा लहान नगरपालिका ले ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ लगानी गरेको छ भने Habitat for Humanity Nepal ले १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको जनाएको छ । साथै लाभग्राही परिवारहरूको करिब साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान र भवानी एकीकृत विकास केन्द्र को प्राविधिक सहयोगमा घर निर्माण सम्पन्न गरिएको हो ।

“यो केवल घर होइन, राज्यको उपस्थितिको अनुभूति हो” घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न र सुकुमवासी समुदायप्रति राज्यको दायित्वबोधकै परिणामस्वरूप यस्तो अभियान सञ्चालन गरिएको बताए । उनले भने,“राज्य विपन्न नागरिकका लागि हुनुपर्छ । दलित, गरिब र सुकुमवासी समुदायलाई सुरक्षित आवास उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो । यो केवल घर होइन, गरिबको आँगनमा राज्यको उपस्थितिको अनुभूति हो ।”

नगरप्रमुख चौधरीका अनुसार लहान नगरपालिकाले वडा नम्बर १५, १२, २२, २१ र १३ लगायत विभिन्न वडामा हालसम्म झण्डै २ सयभन्दा बढी यस्ता घर निर्माण गरिसकेको छ । उनले आगामी दिनमा पनि विपन्न समुदायका लागि आवास, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । घरको साँचो बुझ्दै गर्दा धेरै स्थानीय भावुक बनेका थिए । वर्षौंदेखिको पीडा अन्त्य भएको अनुभूति गर्दै कतिपय वृद्धवृद्धाले खुसीका आँसु झारे । एक स्थानीय वृद्धाले भावुक हुँदै भनिन्,“अब बर्खामा रातभरि पानी थापेर बस्नुपर्दैन । बालबच्चालाई कसरी जोगाउने भन्ने डर हट्यो । मेयर साब हाम्रो लागि भगवान बनेर आउनुभयो ।”

कार्यक्रममा सहभागी स्थानीयहरूले नगरप्रमुख चौधरीलाई “विपन्नको सहारा” भन्दै प्रशंसा गरेका थिए । मुसहर बस्तीमा लामो समयपछि देखिएको यस्तो उल्लासपूर्ण दृश्यले सामाजिक न्याय र स्थानीय सरकारको प्रभावकारी भूमिकाको अनुभूति गराएको सहभागीहरूको भनाइ थियो ।

लहान नगरपालिका ले पछिल्लो समय दलित, सुकुमवासी तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । सुरक्षित आवास अभियानलाई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार मानिएको छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार यस्तो कार्यक्रमले केवल घर मात्र निर्माण गर्दैन, विपन्न समुदायमा आत्मविश्वास, सुरक्षा र सम्मानको भावना पनि निर्माण गर्छ ।

घलेटोल मुसहर बस्तीमा शुक्रबार देखिएको खुसी, हर्ष र आशाको दृश्यले स्थानीय सरकारप्रति जनविश्वास अझ बलियो बनेको महसुस गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा सञ्चालित यो अभियान अहिले लहान नगरपालिका भित्र सामाजिक उत्तरदायित्व र जनमुखी विकासको उदाहरणका रूपमा चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤