वीरगंज ३ जेष्ठ। नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको छ। अस्पतालले यस उपलब्धिलाई गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
अस्पतालको व्यवस्थापन प्रणाली, सेवा प्रवाह तथा कार्यप्रणालीको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणीकरण प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको हो। ISO 9001:2015 प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंकलगायत विभिन्न सहयोगी सेवाहरू समेटिएका छन्।
वीरगंज महानगरपालिका–१५ भेडियाही, पर्सामा अवस्थित नेशनल मेडिकल कलेज प्रालिले ISO 9001:2015 का सम्पूर्ण मापदण्ड पूरा गर्दै प्रमाणीकरण प्राप्त गरेको जनाइएको छ। साथै, आगामी दिनमा निर्धारित अवधिअनुसार हुने अनुगमन अडिटहरू पनि सफलतापूर्वक पूरा गर्नुपर्ने व्यवस्था रहेको अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल व्यवस्थापनका अनुसार यस प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणालीलाई थप प्रभावकारी बनाउन तथा प्रक्रिया–केन्द्रित र सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई सुदृढ बनाउन सहयोग पुग्नेछ। साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप स्वास्थ्य सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
अस्पतालका प्रबन्ध निर्देशकले ISO 9001:2015 प्रमाणीकरण केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताएका छन्। बिरामीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहने उनको भनाइ छ।
अस्पताल नेतृत्वले ISO प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर सक्रिय रहने जनाएको छ। यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज प्राईभेट लिमिटेड क्षेत्रकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic