Siraha Times
ताजा समाचार

नवराजपुरमा सडक निर्माणमा गुणस्तर माथी प्रश्न—उपाध्यक्ष यादव आक्रोशित, अध्यक्षको कार्यशैली प्रति तीन वर्षदेखिको असन्तुष्टि सार्वजनिक

  • चैत २८, २०८२
  • २२४ पटक पढिएको
  • रहमुल
alt

रहमुल, सिरहा, २८ चैत्र । सिरहाको नवराजपुर गाउँपालिका भित्र सञ्चालन भइरहेका ग्राभेल तथा सडक निर्माण कार्यमा गम्भीर गुणस्तरीय समस्या देखिएको भन्दै गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवले कडा आपत्ति जनाएकी छिन्। उनले निर्माण कार्यमा भइरहेको लापरबाही प्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारको माग गरेकी हुन्।

उपाध्यक्ष यादवका अनुसार हाल प्रयोग भइरहेको ग्राभेलमा अत्यधिक माटो मिसिएको पाइएको छ, जसले सडकको दीर्घकालीन दिगोपनामा नकारात्मक असर पार्ने निश्चित छ। “यस्तो गुणस्तरीयहीन सामग्री प्रयोगले जनताको सम्पत्तिमा प्रत्यक्ष क्षति पुर्‍याउँछ,” उनले भनिन्। उनले तत्कालै यस्ता सामग्रीको प्रयोग बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। उनले बाटोमा खसेको ग्राभेल पुनः मिसाएर काम राम्रो देखाउने प्रयास भइरहेको प्रति पनि आपत्ति जनाउँदै यस्तो प्रवृत्ति तुरुन्त रोक्न चेतावनी दिएकी छिन्।

“गुणस्तरीय सामग्री प्रयोग गरेर मात्र दिगो विकास सम्भव हुन्छ,” उनको भनाइ छ। आर्थिक वर्षको अन्त्यतिर हतारमा योजना सम्पन्न गरी जनतालाई भ्रममा पार्ने काम भइरहेको भन्दै उनले यसप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरिन्। विगतमा अनुगमनको अभावका कारण आफूले केही योजनामा हस्ताक्षर गर्न अस्वीकार गरेको स्मरण गर्दै उनले योजना सुरु हुनु अघि अनिवार्य रूपमा जानकारी गराउनुपर्नेमा जोड दिइन्। “जानकारी नै नदिइएका योजनामा कुन कानुन अनुसार साइन गर्नुपर्ने हो, स्पष्ट हुनुपर्छ,” उनले प्रश्न उठाइन्।

उपाध्यक्ष यादवले महिला जनप्रतिनिधिको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउँदै प्रशासन अधिकृत देखि कर्मचारीसम्मलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरिन्। “कर्मचारीहरू व्यक्तिगत होइन, सम्पूर्ण पालिकावासीका सेवक हुन्, जनताको काममा ढिलासुस्ती र अनाकानी तुरुन्त बन्द हुनुपर्छ,” उनले भनिन्। उनले गुणस्तरीयहीन काम भेटिएमा तत्काल रोक्न निर्देशन दिँदै जनताको सम्पत्तिको संरक्षणमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइन्। “म नवराजपुर गाउँपालिकाका बासिन्दाको खुसी देख्न चाहन्छु,” उनले स्पष्ट पारिन्।

यसैबीच, उपाध्यक्ष यादवले नवराजपुर गाउँपालिकामा केही व्यक्तिको एकल निर्देशनमा काम भइरहेको गम्भीर आरोप लगाउँदै अब यस्तो मनपरी नचल्ने चेतावनी दिएकी छिन्। कुनै जनप्रतिनिधिले आवाज उठाउँदा पाखा लगाउने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले समन्वय र पारदर्शिताको आवश्यकता औंल्याइन्। उनी विगत तीन वर्षदेखि गाउँपालिका अध्यक्ष शिव उदगार यादवको कार्यशैलीप्रति असन्तुष्ट रहेको समेत सार्वजनिक भएको छ।

स्थानीय सरकार एकल निर्णयले होइन, सबै शाखा र जनप्रतिनिधिको सहभागितामा सञ्चालन हुनुपर्ने उनको भनाइ छ। यता, आम नागरिकले समेत ९ महिनासम्म काम किन अघि नबढेको भन्ने प्रश्न उठाएका छन्। “ढिलाइको जिम्मेवारी कसले लिने?” भन्ने प्रश्नसँगै कमजोरी कहाँ भयो भन्नेबारे स्पष्टता माग गरिएको छ। स्थानीयवासीले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन्।

“जबसम्म प्रणाली सुधार हुँदैन, तबसम्म एक–अर्कामाथि दोषारोपणको श्रृंखला चलिरहन्छ,” भन्दै नागरिकहरूले समस्या व्यक्तिमा नभई प्रणालीमै रहेको धारणा व्यक्त गरेका छन्। स्थानीय तहमा देखिएको यस विवाद र गुणस्तरसम्बन्धी प्रश्नले नवराजपुर गाउँपालिकाको विकास निर्माण प्रक्रिया र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

​धनगढीमाईको मदन भण्ड ...

​जेठ ११, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ स्थित मदन भण्डारी स्मृति माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१