ओम प्रकाश यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङा राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ आजदेखि सुरुङा नगरपालिका वडा नं. ७ को समसेरपुरमा भव्य रूपमा सुरु भएको छ। फागुन ५ गते देखि प्रारम्भ भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा आयोजित प्रतियोगिताको संयोजन “हामी सखी एक अर्काको लागि” सुरुङा नगरपालिका वडा नं. ५ ले गरेको हो।
महिला खेलकुदको प्रवर्द्धन, ग्रामीण क्षेत्रमा प्रतिभाको पहिचान तथा महिला सशक्तीकरणलाई टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन समारोह वडा ७ का वडाध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि सुरुङा नगरपालिकाकी मेयर गीता चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा उप–मेयर रुद्र बहादुर कार्की,वडा न. ६ को वडा अध्यक्ष दिनेश कुमार राम, राम भरोश मोची लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, विभिन्न वडाका वडा सदस्यहरू, सामाजिक अगुवा, विद्यालयका प्रधानाध्यापक, खेलकुदकर्मी, रेफ्री, प्रशिक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक भवनको जग्गा दाता समुजलाल चौधरी र सीता राम चौधरीको साथ सथै धाती बजारको बरिस्ठ धान ब्यपारी देबनाथ यादव, समाजसेबी शुभनारायण चौधरी , मल्हनमाको. प्र. अ. रामकुमार मेहरा, नागेन्द्र चौधरी, कुशहाको प्रअ सूर्य नारायण चौधरी, भेडिया प्रअ सत्य नारायण चौधरी, अरुण कुमार चौधरी, रामजी चौधरी, बिरेन्द्र चौधरी, धर्मेन्द्र चौधरी, कुमार राई, टिपटपका प्रशिक्षक, रेफ्री सुरज भुर्तेल, नारायण पण्डित, सुनिल कुमार चौधरी, मुक्ति नाथ चौधरी, कालिम चौधरी, अनिल चौधरी, जितेन्द्र प्रसाद विश्वकर्मा, वडा सचिव सुनिता चौधरी ,आशा कुमारी चौधरी, दिलिप चौधरी लगायतको उपस्थिति रहेको कुरा कार्यक्रम सञ्चालक बिशेन्द्र पासवानले जनाएको छ।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने स्वागत मन्तव्य सुरुङा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिलाराम चौधरीले व्यक्त गर्नुभएको थियो। उहाँले महिला खेलाडीहरूलाई प्रोत्साहन गर्दै खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन खेलमा टिपटप काठमाडौं र सुन्दरहरैचा मोरङबीच प्रतिस्पर्धा भएको थियो। खेलमा टिपटप काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन सेटमा जित हात पारेको छ। पहिलो सेटमा टिपटपले २५–९ ले जित हासिल गर्यो भने दोस्रो सेटमा पनि आक्रामक खेल प्रस्तुत गर्दै २५–६ को फराकिलो अन्तरले अग्रता कायम राख्यो। तेस्रो सेटमा समेत २५–७ को जित निकाल्दै टिपटपले एकपक्षीय रूपमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।
टिपटपका खेलाडीहरूले सशक्त सर्भिस, सुदृढ ब्लक र उत्कृष्ट टिमवर्क प्रदर्शन गरेका थिए। विपक्षी टोलीले प्रयास गरे पनि टिपटपको आक्रामक रणनीतिलाई रोक्न सकेन। उद्घाटन खेलमै दर्शकहरूले रोमाञ्चक र उच्चस्तरीय प्रतिस्पर्धा हेर्न पाएका थिए।
प्रतियोगिताको उद्देश्य केवल प्रतिस्पर्धा मात्र नभई महिला तथा बालबालिकालाई आत्मनिर्भर, आत्मविश्वासी र सशक्त बनाउनु रहेको आयोजकले स्पष्ट पारेको छ। ग्रामीण क्षेत्रमा महिलाहरूको सहभागिता बढाउँदै खेलकुदमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मेयर गीता चौधरीले पनि महिला खेलाडीहरूको हौसला बढाउन शान्त भइ खेलाडीहरुको खेल हेर्दै निरन्तर अभ्यास र अनुशासनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्ने संकेत गरे । प्रतियोगितामा विभिन्न जिल्लाका महिला टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। आगामी दिनहरूमा पनि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
विजेता तथा उपविजेता टोलीलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। समसेरपुरमा सुरु भएको यो प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदप्रति उत्साह थप्नुका साथै महिला सशक्तीकरण अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। फागुन ९ गते समापन समारोहका साथ प्रतियोगिता सम्पन्न हुनेछ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic