रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले बिगत ३ महिना देखि दैनिक ज्यालादारीमा हालसम्म करिब ४ सय भन्दा बढीको नियुक्ती दिदै करोडौं कुम्ल्याउन सफल भएको समाचार प्राप्त हुन आएको छ । बिना उदेश्य, बिना प्रयोजनको जुनसुकै पदमा जसलाई जागिर चाहियो भने सर्टिफिकेटको फोटो कपी सहित निवेदन लिई प्रति व्यक्ति डेढ देखि दुई लाख सम्म असुली धमाधम नियुक्ती दिएको र अझ पनि दिदै आएको समाचार स्रोतले जनाएको छ ।
दैनिक ज्यालादारीमा दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती भएको स्रोतको भनाई रहेको छ । पोखरियामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले दैनिक ज्यालादारीमा नियुक्तीका लागि नगरपालिका भित्र बिना उदेश्य एक मात्र लक्ष्य रकम असुली गर्नको लागि दर्जनौं बिचौलियाहरु परिचालन गरेर करोडौं असुली नियुक्ती दिदै आएको स्रोतको कथन रहेको छ ।
बिचौलियाहरुले नियुक्ती लिने व्यक्तिहरु सँग अढाई देखि ३ लाख सम्म असुली अधिकृत श्रीवास्तवलाई डेढ देखि दुई लाख सम्म बुझाएको ती स्रोतको भनाई रहेको छ । बिचौलियाहरु बसन्त आर्ट पोखरियाका सञ्चालक बलराम साह तेली, फायरबिकेट ईन्चार्ज नन्दकिशोर यादव उर्फ टाईसन, सहायक प्रशासन प्रमुख बिजय साह तेली, पञ्जिकरण शाखा प्रमुख सुनिल राम, अपाङ्ग तथा न्यायिक समिति शाखा प्रमुख ललन पटेल, वडा नं. ९ का सहायक वडा सचिव भगवान साह कानु, श्री नेपाल राष्ट्रिय आधारभुत कन्या मावि सतवरीया पोखरियाका प्रधानाध्यापक रामबाबु चौहान, सुपरभाईजरमा नियुक्त भएका शैलेस गुप्ता, जगतपुर मननपुर निवासी सुमित साह गोढ, लमरिया निवासी रामचन्द्र साह तेली, कार्यपालिका सदस्य राधा साह कानु, श्रीसिया निवासी मदन चौहान लगायत रहेको स्रोतले जनाएको छ ।
सो कार्यालयमा चलानी रजिष्टर दुई वटा रहेको छ भने हाजरी रजिष्टर करिब ६ वटा रहेको बुझिएको छ । कार्यालयलाई अनिवार्य रुपमा चाहिएको करार वा दैनिक ज्यालादारीमा नियुक्त भएका व्यक्तिहरुको चलानी रजिष्टर छुटै छ जसलाई तलब खुवाउनु पर्ने हुन्छ र कार्यालयलाई नचाहिने भए पनि रकम असुल्नैका लागि नियुक्त भएका व्यक्तिहरुको चलानी रजिष्टर छुटै छ, जुन चलानी रजिष्टर गोप्य रुपले सहायक प्रशासन प्रमुख बिजय साह तेलीले राखने गरेको स्रोतको भनाई रहेको छ । अधिकृत श्रीवास्तवले असुली गरेको रकम मध्ये प्रशासन प्रमुख संजय पाण्डे, सहायक प्रशासन प्रमुख बिजय साह तेली, मेयर प्रद्युम्न चौहान, उपमेयर रुबी ठाकुर लगायतकाले हैसियत अनुसार भागबण्डा गरेको ती स्रोतको भनाई रहेको छ ।
नियमानुसार कार्यालयलाई आवश्यक परेको नियुक्तीको टिप्पणीमा लेखा प्रमुखको अनिवार्य सही हुनु पर्नेमा सोही अनुसार रासलिला गर्नमा माहिर मानिएका लेखा प्रमुख मन्दिप महतोको सही रहेको छ भने दैनिक ज्यालादारीको भर्ती केन्द्रको टिप्पणीमा उनको सही नरहेको स्रोतले जनाएको छ । नियुक्ती सन्दर्भमा अधिकृत श्रीवास्तव सँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । नगरपालिकाको अनियमित्ता, अनावश्यक कर्मचारी भर्नाको बिरोध लगायतका विषयमा सो नगरपालिकामा विभिन्न राजनितिक दलहरुले पटक–पटक धर्ना, आन्दोलन गर्दै आए पनि पछि कुनै न कुनै प्रभावमा पर्दै शिथिल हुदै गएको स्थानियहरुको आरोप रहेको छ ।
नियुक्ती दिईयो तलब खुवाईएन पोखरिया नगरपालिकामा नयाँ नियुक्ती भएकाहरुको हालसम्म तलब नखुवाईएको बताईएको छ । नयाँ नियुक्ती पाएकाहरुले तलब नपाउने आभाष पाएपछि बिचौलियाहरुलाई हामीले दिएको रकम फिर्ता गर कि तलब खुवाउन भन भनि दबाव दिईरहेको स्रोतले जनाएको छ । स्थानिय सरकार सञ्चालन ऐन अनुसार आवश्यक परेको अवस्थामा बोर्डको निर्णय अनुसार कुन पदमा कति जना कर्मचारी राख्ने हो, निश्चित गरी आवश्यक करार, दैनिक ज्यालादारी लगायतका कर्मचारीहरु नियुक्त गर्न सकिने छ ।
तर सो नगरपालिकालाई बिना संख्या किटान गरी हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जागिर दिने काराखाना बनाउदै सयकडौंलाई नियुक्ती दिई असुली धन्दाको लुट मच्चाई रहंदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायहरुले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic