Siraha Times
ताजा समाचार

नवराजपुर–१ करमनियाँको अवधि फेकनी आधारभूत विद्यालयमा अभिभावक भेला सम्पन्न, सर्वसम्मत वि.व्य.स. गठन

  • माघ ८, २०८२
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का चार जना सदस्य सर्वसम्मत रूपमा चयन भएका छन् ।

नवगठित वि.व्य.स. सदस्यहरूमा सूर्यनारायण ठाकुर, रिङ्कु देवी साह, रोशनी पासवान र कविता यादव रहनुभएको छ । अघिल्लो वि.व्य.स. को कार्यकाल सकिनासाथ नयाँ समिति गठन गरिएको हो । भेलामा विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद साहको नेतृत्वप्रति अभिभावकहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए ।

करमनियाँ, ठेकहा र मकरमपुर गरी तीन वटा गाउँको सेवा क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा करिब २५० जना विद्यार्थी अध्ययनरत छन् । अभिभावक भेलामा सहभागी अभिभावकहरूका अनुसार ती तीनै गाउँका करिब ९५ प्रतिशत अभिभावकहरूले आफ्ना बालबालिकालाई निजी विद्यालयमा नपठाई सामुदायिक विद्यालयमै अध्ययन गराइरहेका छन्, जुन विद्यालयप्रतिको विश्वासको प्रत्यक्ष उदाहरण हो ।

प्रधानाध्यापक महेन्द्र प्रसाद साहको नेतृत्वमा शिक्षक टोलीको निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाका कारण विद्यार्थी, अभिभावक तथा स्थानीय सरकार सबै सन्तुष्ट देखिएका छन् । अभिभावक भेलामा बोल्दै दाता परिवारका सदस्य हरिनारायण यादवले आफ्ना बुवा अवधि यादव र आमा फेकनी यादवले जग्गा दान गरी स्थापना गरिएको यो विद्यालय आज जिल्लाकै नमुना बनेकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयको भौतिक संरचना, व्यवस्थापन र शैक्षिक उत्पादन देखेर आफू गर्वित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कक्षास्तर उन्नति र थप सुधारका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष नवीन यादवले विद्यार्थी, अभिभावक, शिक्षक, समुदाय, स्थानीय सरकार र दाता परिवार सबैको साझा प्रयासले विद्यालय आज जिल्लामै उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । उहाँले थप कक्षा सञ्चालन र पूर्वाधार विकासका लागि आफू निरन्तर पहलरत रहेको जानकारी दिनुभयो ।

अझ रोचक पक्ष के छ भने यस विद्यालयदेखि करिब ३०० मिटर दूरीमा रहेको नाम चलेको सखुवानन्कारकट्टी गाउँपालिका–२ स्थित एक पुरानो माध्यमिक विद्यालय राजनीतिक दाउपेचका कारण पछाडि परिरहेको अवस्थामा अवधि फेकनी आधारभूत विद्यालय भने दिनदुगुना, रातचौगुना प्रगति गरिरहेको छ । यसबाट अन्य सामुदायिक विद्यालयहरूले सिक्नुपर्ने सन्देश स्पष्ट देखिएको सहभागीहरूको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवले यस अवसरमा शिक्षा क्षेत्रमा भइरहेको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“सामुदायिक विद्यालय सुधार हाम्रो प्रमुख प्राथमिकता हो । अवधि फेकनी आधारभूत विद्यालय आज निजी विद्यालयलाई समेत टक्कर दिने अवस्थामा पुग्नु स्थानीय सरकार, शिक्षक र समुदायबीचको सहकार्यको परिणाम हो ।

नवराजपुर गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउँदै गुणस्तर सुधार, कक्षास्तर विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनेछ ।”पहिले पनि राम्रो मानिएको यस विद्यालयमा प्रधानाध्यापक महेन्द्र प्रसाद साहको आगमन पछि व्यवस्थापन, शैक्षिक गुणस्तर र अनुशासनमा उल्लेखनीय सुधार आएको अभिभावकहरूको निष्कर्ष थियो ।

साथै, शिव उदगार यादव नेतृत्वको स्थानीय सरकार गठनपछि शिक्षा क्षेत्रमा थप गति आएको र सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनेको सहभागीहरूले बताएका छन् । अन्त्यमा अभिभावक भेलाले विद्यालयको निरन्तर उन्नति र सामुदायिक शिक्षालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१